२० माघ, २०८१ आइतबार

09:46:05 AM


×

दुबईमा जमेका नेपाली भन्छन्- ‘यहाँ सिस्टममा काम हुन्छ, भनसुन चल्दैन, घुस चाहिंदैन’

दुबईमा जमेका नेपाली भन्छन्- ‘यहाँ सिस्टममा काम हुन्छ, भनसुन चल्दैन, घुस चाहिंदैन’


Samacharpatra

१० माघ, २०८०

संयुक्त अरब इमिरेट्स (युएई) लाखौं नेपालीको कामको गन्तव्य देश हो । तर, युएईमा उद्यम र व्यापारमा राम्रो गरिरहेका नेपाली पनि छन् । ईश्वरप्रसाद उपाध्याय, डा. रवीन्द्रकुमार यादव, एकेन्ऽबहादुर थापा क्षेत्री र सरोज बिष्ट यिनैमध्येमा पर्छन् ।

दुबईमा जमेका नेपाली भन्छन्- ‘यहाँ सिस्टममा काम हुन्छ, भनसुन चल्दैन, घुस चाहिंदैन’

१६ माघ, दुबई । धादिङ, मलेखुका ईश्वरप्रसाद उपाध्याय अहिले दुबईमा व्यापार गर्छन् । यसअघि नेपालमा पनि सानोतिनो व्यापार गरेका उपाध्याय आर्थिक सुरक्षा नदेखेपछि सन् २०१० मा दुबई हान्निएका थिए । त्यहाँ सामान्य रेस्टुराँ व्यवसाय सुरु गरेका उनी अहिले राम्रो कारोबार गर्ने मध्येमा पर्छन् ।

विगत केलाउँदै उपाध्यायले भने, ‘नेपालमा सानो किराना पसलबाट व्यवसाय सुरुआत गरेको थिएँ । त्यो बिस्तारै ठूलो होलसेल पसल भयो । व्यापारसँगसँगै काठमाडौंमा होटल व्यवसाय पनि थालें । ८ वर्ष काठमाडौंमा व्यापार, व्यवसाय गरेपछि यहाँ सुरक्षा छैन भन्ने मलाई लाग्यो । अनि युएई आएँ ।’

उनी भन्छन्, ‘नेपालमा अलिकति कमाएपछि खुट्टा तान्ने प्रवृत्ति छ । अलिअलि पैसा भएपछि ज्यानलाई सुरक्षा नहुने अवस्था आउँदा जो-कोही पनि काम गर्न डराउँछ । थोरै मात्रै कमाइ हुन थालेपछि मान्छेले खुट्टा तान्ने, कसरी फसाउँ, कसरी सिध्याउँ भन्ने प्रवृत्ति देखिइहाल्छ । मलाई पनि त्यस्तै भयो ।’

उपाध्यायले सुरुमा सानो रेस्टुराँ खोलेर व्यवसाय थालनी गरेका थिए । यसरी मरुभूमिमा उनको ‘सगरमाथा रेस्टुरेन्ट’ सञ्चालनमा आयो । सुरुमा १ करोड रुपैयाँ लगानीमा व्यवसाय थालेका उपाध्यायले बिस्तारै आफ्नो व्यापार फैलाउँदै लगे ।

यो विस्तारसँगै ‘फूलबारी ग्रुप’ नामक कम्पनी सञ्चालनमा आयो । अहिले फूलबारी ग्रुप अन्तर्गतको व्यापार व्यवसायमा २० करोड रुपैयाँ बढी लगानी छ । फूलबारी ग्रुप अन्तर्गत फूलबारी रेस्टुराँ, फूलबारी ब्युटिपार्लर र सगरमाथा रेस्टुराँ सञ्चालनमा छन् । सबै ठाउँमा गरेर उनले २९ जनालाई रोजगारी दिएका छन् ।

ईश्वरका भनाइमा उनले युएई आएर व्यापारमा हात हाल्नुमा तीन कारण छन् । पहिलो, नियम-कानुन राम्रो छ । हप्ता उठाउने, चन्दा उठाउने, धम्की दिने कोही छैन । उधारो जाँदैन । कुनै खालको गुन्डागर्दी चल्दैन । गुन्डागर्दी गर्न खोजे सीधै प्रहरीलाई फोन गर्ने हो । त्यसपछि त्यो मान्छे सधैंका लागि सकिन्छ ।’

दोस्रो, व्यापारमा यहाँ ‘ग्यारेन्टी’ तथा ‘वारेन्टी’ छ । मैले होटल सञ्चालन गरेको पनि नौ वर्ष भयो । जुन ठाउँमा म होटल चलाउँछु, त्यो ठाउँ मैले छोड्छु नभनेसम्म कोही आएर हटाउन सक्दैन । यहाँ बिजनेस गर्नुको अर्को फाइदा व्यापार गरिरहँदा मनलाग्दी भाडा बढाउन पाइँदैन । सबैतिर भाडा बढ्यो भने एकनासले बढ्छ ।

उनको भनाइमा, नेपालमा हो भने राम्रो गर्न थालेपछि घरबेटीले कि निस्केर जा भन्छ, कि त भाडा बढाउन किचकिच गर्न थाल्छ । नगरपालिका, सरकार सबै चुप बस्छन् । त्यो व्यापार-व्यवसाय गर्ने मान्छेलाई साथ दिने कोही हुँदैन ।

तेस्रो दुबईमा चोरी, डकैती जिरो छ, लफडा हुँदैन, काटमार, कुटपिट एकदम न्यून छ । नेपालमा दिनैपिच्छे, हप्तैपिच्छे घटना हुन्छन् । शक्तिमा हुने जेल बस्नै पर्दैर्न । तर दुबईमा गल्ती गरे नो माफी, यहाँ क्षमायाचना भन्ने हुँदैन । यहाँ सबैले कानुनको पालना गर्छन् ।

नेपाल सरकारले लगानीका लागि सुरक्षित वातावरण बनाउने हो भने ईश्वरलाई नेपालमा एउटा अन्तर्राष्ट्रियस्तरको रिसोर्ट खोल्न मन छ । उनको भनाइमा, ‘नेपालमा लगानी ल्याउन नीति-नियम राम्रो हुनुपर्‍यो । अर्को कुरा नीतिनियम राम्रो भएर मात्रै पनि भएन, मुख्य कुरा देश सिस्टममा चल्नुपर्‍यो ।’

ईश्वर भन्छन्, ‘नेपालमा कानुन अनुसार काम गर्न एक महिना धाउनुपर्छ । तर गैरकानुनी बाटोबाट एक दिनमै त्यो काम गर्न सकिन्छ । जबकि युएईमा जुनसुकै काम सिस्टम अनुसार हुन्छ । घुस चाहिंदैन, भनसुन चल्दैन ।’

ईश्वर यहाँ व्यवसायीसँगै समाजसेवीको रूपमा समेत चिनिन्छन् । कोही समस्यामा पर्दा दुबईमा होस् वा नेपालमा उनलाई सहयोग गर्न मन पर्छ । ईश्वरले हाकाहाकी भने, ‘कमाएको ५ प्रतिशत जति समाजसेवामा सहयोग गर्न पाउँदा म खुसी हुन्छु ।’

उनले भर्खरै मात्र २२ लाख ५० हजार दिराम अर्थात् नेपाली करिब-करिब ८१ करोड रुपैयाँमा बसोबासका लागि घर किनेका छन् ।