२० माघ, २०८१ आइतबार

09:45:38 AM


×

जिउँदै स्वर्ग-नर्क अनुभव गराउने प्रकृति पूजा तोस

जिउँदै स्वर्ग-नर्क अनुभव गराउने प्रकृति पूजा तोस


Surendra Tamang

२४ जेठ, २०८०

जेठको अन्तिम हप्ता गरिने तोसले संस्कार बन्द गर्छ भने असोजमा गरिने तोसले खुलाउने काम ।

जिउँदै स्वर्ग-नर्क अनुभव गराउने प्रकृति पूजा तोस

स्वर्ग र नर्क बारे विभिन्न जनविश्वास छ । स्वर्ग भन्नेबित्तिकै धर्म गर्ने मान्छे मृत्युपछि देवलोकमा पुगेर आनन्दले देवताको समीपमा बसिरहेको र नर्क भन्नेबित्तिकै डरलाग्दो यमराजले कराहीको तेलमा हालेर भकभकी उमालिरहेको हामी कल्पना गछौर्ं ।

स्वर्ग सुरम्य, सुगन्ध र अमरावती हुन्छ भने नर्क रुखो, उजाड, उराठ लाग्दो र भयानक भन्ने हामीमा विश्वास छ । त्यसैले स्वर्गलाई पुण्यात्मा र सत्कर्मीहरू मृत्युपछि सुख भोग गर्न जाने देवलोक भन्ने गरिन्छ भने पापी वा दुराचारीहरूलाई मरेपछि सजाय दिइनेलाई नरक भन्ने गरिन्छ ।

यो सदियौंदेखि भनिंदै र सुनिंदै आएको कुरा मात्र हो । कोही त्यहाँ पुगेर आफ्नो अनुभव बाँडेका छैनन् । तर आज जीवन भोगाइकै क्रममा एक किरात सभ्यताभित्र पर्ने कुलुङ जातिले अँगालेको संस्कारको चर्चा गर्दैछु । कुलुङ जातिमा गरिने एक प्रकृति पूजालाई तोस भनिन्छ । त्यही तोसले स्वर्ग र नर्कको बारेमा केही अनुभूति गराउँछ ।

तोस

तोस कुलुङले गर्ने एक भूमि पूजा हो । यो वर्षमा तीन पटक गर्ने गरिन्छ । जेठ, असोज र फागुनमा गरी गरिने तीन वटै तोसको नाम फरक-फरक छन् । जेठमा गरिने तोसलाई यनाम तोस, असोजमा गरिनेलाई थो तोस र फागुनमा गरिने तोसलाई जी तोस भन्ने गरिन्छ । जी तोसलाई याउ तोस भनेर पनि चिनिन्छ । यी तोसमध्ये याउ तोस अनिकाल नलागेर सहकाल लागोस् ! अन्नपात तथा बालीनाली सप्रियोस् भनेर भूमि पुज्ने गरिन्छ ।

यता जेठ र असोजमा गरिने तोसले भने संस्कार बन्द गर्ने र खुलाउने काम गर्छ । जेठको अन्तिम हप्ता गरिने तोसले संस्कार बन्द गर्छ भने असोजमा गरिने तोसले संस्कार खुलाउने काम । त्यसैले कुलुङ जातिभित्र असार, साउन र भदौ बन्देजको समयको रूपमा चिनिन्छ ।